फेरि याद आउनु भएछ...!
मेरो केही पलको खुशी भङ्ग पारेर, सम्पूर्ण हासोलाई सन्नाटामा परिवर्तन गर्दै । बोल्दै नबोली, ढकढक नगरि मेरो मुटुमा प्रवेश गर्यो ।
यादहरुकै स्वागतमा आँखाले अबिरल आँसु बगायो । हातखुट्टा लल्याकलुलुक बने । होश गुमायो मस्तिष्कले पनि । म कहाँ छु, के गर्दैछु सबै बिर्सिएँ ।
मष्तिष्कको स्मृति एल्बममा अचानक एउटा चलचित्र चल्न थाल्यो । उनी...!
तिनै आँखाहरू, तिनै मुस्कान, तिनै साना साना पलहरू, जसले कहिल्यै नमेटिने छाप छोडेका थिए मेरो आत्मामा ।
मेरो मनले प्रश्न गर्यो किन फेरि आयौ?"
तर जवाफ थिएन, थियो त केवल भूतकालका तस्बिरहरू, जसले वर्तमानलाई बिझाइरहेका थिए ।
साँझ पर्न लागेको थियो, बिस्तारै बादलहरू गुलाबी र सुनौलो रंगमा ढल्दै थिए । सहरको चहलपहल केही मत्थर हुँदै थियो, मानिसहरू आ-आफ्नो गन्तव्यतिर लागिरहेका थिए । सडक छेउको क्याफेमा एक कप कफीको न्यानोपन सँगै म एक्लै बसिरहेको थिएँ । तर, एक्लोपन त्यति साधारण थिएन, त्यो त एउटा अभिशाप जस्तो थियो, जुन मसँग लुकेर बस्ने गर्छ ।
समय बित्दै गयो, बाहिर हेर्दै गर्दा, कुनै बेला हामी संगै हिँड्ने ती बाटोहरू याद आयो । त्यो क्याफे जहाँ हामीले पहिलो पटक हात समातेका थियौँ, त्यो चोक जहाँ उनि अलिकति रिसाएर मलाई छोडेर गएकी थिइन्, तर केही मिनेटमै फर्किएर मेरो काखमा अँगालो मारेकी थिइन् । मैले सम्झिएँ आखिर कति साना साना क्षणहरू संचित भएर एउटा विशाल स्मृतिको महासागर बनेको थियो ! तर, आज त्यो महासागरमा म मात्रै थिएँ। उनी कतै हराई सकेको थिइनन् । केवल उनको सम्झना मात्र मसँग थियो ।
मैले धेरै पटक आफूलाई सम्झाएँ, "अब ती कुरा सम्झेर के फाइदा? समय बगेको छ, जिन्दगी अघि बढाउनु पर्छ !" तर, मन बुझाउन गाह्रो हुन्थ्यो ।
कहिलेकाहीं लाग्थ्यो, यदि ती दिनहरू पुनः फर्किन सक्थे भने कस्तो हुन्थ्यो? यदि समयको चक्रलाई उल्ट्याएर ती क्षणहरू फेरि जिउन पाइन्थ्यो भने म के गर्थे? के फेरि उसैगरी माया गर्थे? कि, केही फरक हुन्थ्यो? तर वास्तविकता त यथार्थ नै हो।
बितेका पलहरू फर्किंदैनन्, सम्झनाहरू त केवल यातनाका घाउ बनेर बाँकी रहन्छन् ।
उनको उपस्थितिले मेरा दिनहरू उज्यालो बनाएको थियो । उनको मायाले मेरा भावनाहरू सुगन्धित तुल्याएको थियो ।
तर, एक्कासी ती सबै हराए ।
के मैले उनलाई गुमाएँ?
कि, उनले मलाई छोडिन्?
उत्तर मसँग छैन ।
यति थाहा छ।
हामी अब पहिले जस्तै छैनौँ ।
साँच्चै, कतिपय सम्बन्धहरू अधुरै रहन्छन् । तर, अधुरो छोड्ने
थियो, जसको कुनै पूर्णविराम कहिल्यै लागेन ।
मनसायले होइन, परिस्थिति नै त्यस्तो बन्छ । हाम्रो सम्बन्ध पनि त्यस्तै आज धेरै समयपछि फेरी ती यादहरूले मनमा हुरी ल्याए । म सम्झनाको जालोमा अल्झिएँ, जहाँबाट उम्किन गाह्रो थियो ।
कसरी सम्झनाहरू यति बलिया हुन्छन् ?
कसरी कुनै मान्छेले अर्को मान्छेको आत्मा नै कब्जा गर्न सक्छ?
मनले बारम्बार सोध्यो
"के तिमी अझै उनलाई प्रेम गर्छौं?"
तर, यसको उत्तर दिन म असमर्थ थिएँ ।
किनकि प्रेम केवल वर्तमानको विषय होइन, त्यो एक अनुभूति हो, जसले समय, दूरी, सबै पार गर्न सक्छ ।
कहिलेकाहीँ लाग्छ, सम्झनाहरू बोक्ने क्षमता मानिसलाई नदिएको
भए कस्तो हुन्थ्यो?
यदि भूतकाल मेटेर नया क्यानभासमा जीवन कोर्न पाइने भए कस्तो हुन्थ्यो ?
शायद त्यसो भएको भए जीवनको अर्थ नै हराउँथ्यो ।
किनभने दुखद यादहरू बिना, सुखद क्षणहरूको मूल्य बुझ्न कहाँ सकिन्थ्यो र?
यो सहरमा,
रात पर्न लागेको छ ।
सहरका बत्तीहरू बल्न थालेका छन् ।
क्याफे सुनसान हुँदै गएको छ ।
म उठ्छु, आफूलाई सम्हाल्न खोज्छु ।
तर, भित्रभित्रै अझै चिच्याइरहेको छु
" फेरि याद आउनु भएछ...!"